काठमाडौं - नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले ६५० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहाकार समितिको निर्णयको स्वागत गरेको छ। संघले ५०० एमजी पारासिटामोलको उत्पादन विस्थापित नहुने पनि स्पष्ट पारेको छ। संघले प्रेस विज्ञप्ति जारी गरी ६५० एमजी पारासिटामोलसँगै नेपालमा ५०० एमजीको पारासिटामोल पनि उत्पादन हुने स्पष्ट पारेको हो। ५०० एमजी पारासिटामोलको अभाव नहुने र ६५० एमजी पनि आवश्यकता अनुसार उत्पादन हुने संघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौँ।’
कोभिड महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज आवश्यकता महसुस गरेको संघले जनाएको छ।
यही चैत १० गते औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको थियो। तर अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले विरोध गरिरहेका छन्।
हेर्नुहोस संघको विज्ञप्ति:
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/275782159_502703507967410_6464048337597217352_n.jpg?_nc_cat=103&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=7ZZW3vmsh_AAX-9vFBN&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AVLMhOL-rmJmmVPJ2l0Flhb85vMKyv3xj9VeDCdgFniJsg&oe=626866D3)