काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेण्डर रद्द भएको छ। भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐन बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए।
धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्ब भन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले टेण्डर रद्द गराएको घिमिरेले बताए।
देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें, ‘घिमिरेले भनेका छन्, ‘ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित सार्वजनिक खरि ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द गरेको छु।’
निर्माण हुन लागेको उक्त भवन १० तलाको हुने बताइएको थियो। अस्पताल १२ सय शय्याको हुने र भवनको माथि हेलिप्याड समेत रहने गुरुयोजना रहेको थियो। यसका साथै अस्पतालमा हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बनाइने भनिएको थियो।
