काठमाडौं- वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा शुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।
कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको निःशुल्क उपचार सेवा शुरु भएको बताए। उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको पनि जानकारी दिए।
निर्देशक बस्नेतले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अवसर पाएका छौँ। त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डे केयर सेन्टर हो। यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क हुन्छ। त्यो भन्दा पनि हामी बिस्तारै अब बनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ। हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेन्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड क्यान्सरहरुको उपचार गर्ने र बनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ।’
रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा निरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए। उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने जानकारी दिए।
डा सिंहले भने, 'आजबाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस शुरु गरेका छौँ। यो नेपालमा पहिलोचोटि हो। यो रगतजन्य अनुवांशिक रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबाबाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा शुरु गरेका छौँ। हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेछौँ। साथै यो रोगमा लाग्ने बेसिक जाँच परीक्षणहरु पनि वीर अस्पतालमा आजबाट निःशुल्क भएको छ।’