काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्।
बुधवार नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले श्रमजीवि पत्रकारहरुको स्वास्थ्योपचारका लागि पनि सरकारले सकारात्मक पहल थालेको बताए।
पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको खतिवडाको भनाइ छ।
मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा गर्ने विषय यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए। पत्रकारका हकहितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि मन्त्री खतिवडाले महासंघलाई आग्रह गरे।
'सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसकेको छ। बिमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आकलन छ। त्यसैले स्वास्थ्य बिमा बोर्डमार्फत् बिमा गरी पत्रकारहरुको स्वास्थ्योपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सबै सकारात्मक छौँ,' मन्त्री खतिवडाले भने, 'त्यसैले उचित प्रस्ताव अघि सार्न पनि म आग्रह गर्दछु।'
अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरी तिनीहरुको ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने र साउन १ गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई परिचय पत्रको आधारमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो।
'यो आर्थिक वर्षसम्म यो विषय कार्यान्वयन हुन नसक्नुमा म चिन्तित छु। यो विषय म मेरै कार्यकाल रहँदा नै सुरु होस् भन्ने चाहन्छु। त्यसैले यसको बारेमा काम अघि बढाउन निर्देशन समेत दिइसकेको छु,' मन्त्री खतिवडाले भने, 'नेपाल पत्रकार महासंघले तत्काल यो काम अघि बढाएर कार्यान्वयनमा लैजान सञ्चार मन्त्रालयलाई ताकेता गरेमा र अर्थ मन्त्रालयलाई भनेमा मेरो मन्त्रालयबाट म तत्काल यसको कार्यान्वयनमा लैजाने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु।'
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताए। बजेट भाषणमा निःशुल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको अध्यक्ष पोखरेलले गुनासो गरे।
'हामी क्रमशः काम गर्दै जाने हो भने लक्ष्यमा पुग्छौँ। हामीले जस्तै आर्मी, पुलिस, निजामति कर्मचारी सबैको लागि अस्पताल बनाइएको छ। यसरी पत्रकारको लागि पनि निःशुल्क उपचार पाउने अस्पताल बनाउने हो भने हामी सरकारले भनेको निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्छौँ। बजेट भाषणमा त्यो कुरा आयो पनि, नीति बन्यो, तर रकम नछुट्याएको कारणले त्यो सेवा सुविधा पाउन सकेका छैनौँ,' पोखरेलले भने।
नेपाल पत्रकार महासंघले बुधबार स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७औँ स्थापना दिवस मनाएको छ। यस अवसरमा केन्द्रीय समितिले काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ। कोभिडका कारण मिडिया क्षेत्रमा परेको असरबारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ।