काठमाडौं- बागमती प्रदेशका जनताले अबदेखि रक्त सेवा नि:शुल्क पाउने भएका छन्। नि:शुल्क रक्त सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रसँग सम्झौता गरेको छ।
नि:शुल्क रक्त सेवा लिनका लागि वीर र टोखा चण्डेश्वरी अस्पतालको सिफारिस पत्र आवश्यक पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले बताए। रगत परीक्षण, क्रस म्याच, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजनमा लाग्ने रकम नि:शुल्क हुने उनले बताए।
उनले भने, ‘बागमती प्रदेशका कुनै पनि बिरामीले अब रक्त सेवा निशुल्क पाउँछन्। रगत लिने क्रममा बिरामीले तिर्नुपर्ने सबै रकम निशुल्क हुन्छ। तर यो सेवा लिन बिरामीले वीर र टोखा चण्डेश्वरी अस्पतालको सिफारिस पत्र साथमा ल्याउनुपर्ने हुन्छ।’
उक्त सेवा प्रदेशका स्थायी बासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा सञ्चालन व्यवस्थापन कार्यविधि २०७८ बमोजिम निशुल्क गरिएको हो। उक्त सम्झौता असार मसान्तसम्म मात्र लागू हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

