काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ‘होल बडी चेकअप प्याकेज’ सेवा सुरु गर्ने तयारी गरेको छ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई केन्द्रित गरी होल बडी चेकअप प्याकेज सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ। आफ्नै प्रयोगशाला भएकाले पनि उक्त सेवा सुरु गर्न सहज हुने अस्पतालकी निर्देशक डा मनिषा रावलले बताइन्।
उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य रिपोर्ट भेरिफिकेसन गर्ने सरकारको सेन्टर हो यो। बिरामीहरुको धेरै माग भएकाले पनि नयाँ वर्ष वा केही महिनापछि होल बडी प्याकेज सेवा सुरु गर्ने योजनामा छौँ।’
प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति र उपकरण आफुहरुसँग उपलब्ध रहेको उनले बताइन्। शुक्रराज अस्पतालमा विशेषगरी सिटी स्क्यान गर्ने बिरामीहरुको संख्या धेरै छ। दैनिक ५ देखि १२ जनाको सिटि स्क्यान हुने गरेको अस्पतालले जनाएको छ। यो सहित अल्ट्रा साउण्ड, भिडियो एक्सरे, विभिन्न सरुवा रोगहरुको रगत परीक्षण लगायत सेवा पनि उपलब्ध छन्।