काठमाडौं– भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली शुक्रबार भारत भ्रमणमा जाँदैछन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ।
शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि जाने निर्णय भएको छ। उक्त टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र केही सचिवहरु समेत रहेका छन्।
स्वास्थ्य सचिव डा पोखरेल भारत भ्रमणमा जाने भएपछि निमित्त सचिवको जिम्मा डा श्यामसुन्दर यादवलाई दिइएको छ। १२औं तहका डा यादव मन्त्रालयमा रहेका प्रमुख विशेषज्ञहरुमध्ये वरिष्ठ हुन्।
स्वास्थ्य मन्त्रालयमै रहेकी प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईं इटालीमा छिन्।
भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने बताइएको छ। सो क्रममा स्वास्थ्य क्षेत्रका विषयमा पनि सहयोग र समझदारी हुने बताइएको छ। यद्यपि सहयोग र समझदारी के विषयमा हुँदैछ भन्ने विषय सार्वजनिक गरिएको छैन।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसैका लागि सरकारले केही दिन अघि रेल्वे अध्यादेश पुनः जारी गरेको थियो।
यो पनि
प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा जाँदै