काठमाडौ- नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) र वोर्ज कम्पनीको सहकार्यमा निजामति अस्पताल काठमाडौंमा कोल्पोस्कोपी सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रममा महामारी तथा महामारी भन्दा अगाडीको समयमा प्रजनन स्वास्थ्यको अवस्थाका बारेमा छलफल भएको छ। कार्यशालामा अस्पतालका पूर्व प्रमुख डा बिमल थापासहित देशका विभिन्न क्षेत्रमा कार्यरत प्रसूति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन निजामति अस्पतालका सह निर्देशक डा अनुपजंग रायमाझीले गरेका थिए।
कोल्पोस्कोपी मेसिनबाट महिलाहरुको पाठेघरको मुखको जाँच गर्ने प्रक्रिया हो जसको मुख्य उदेश्य पाठेघरको मुखमा हुन सक्ने घाउहरु समयमै पत्ता लगाई क्यान्सर हुनबाट बचाउनु हो। यसका अलावा कोल्पोस्कोपीको प्रयोग पाठेघरको असामान्य अवस्थाहरुको जानकारी लिनको लागि समेत गरिन्छ।
यस्ता किसिमका कार्यशालाहरुले पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाई रोगबाट हुने विभिन्न किसिमका समस्याहरु समाधान गर्न सहज हुने तथामृत्युदर समेत घटाउन उल्लेखनिय भुमिका रहने नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजका अध्यक्ष प्राडा गणेश दंगालले बताए।
क्यान्सर पत्ता लगाउने आधुनिक पद्धतिको विकास सँगसँगै समुदायमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेमा क्यान्सरबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण भई मानिसहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सुधान गर्न सकिने दंगालको भनाइ छ।