काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो।
कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। शिविरमा १६७ जनाको रक्त परीक्षण, १५३ जनाको ईसीजी र ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजनकले जनाएको छ।