काठमाडौं- चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्। तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका थिए। मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए। सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
यसैबीच चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पाइएको भन्दै पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पाइएपछि पक्राउ गरिएको जनाएको छ।
चार जना नक्कली र एक जना नक्कली परीक्षार्थी खोज्ने सक्कली परीक्षार्थी तथा बिचौलियाको काम गर्ने व्यक्ति पक्राउ परेको महाशाखाका एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनीहरुलाई बानेश्वर, बालकुमारी र भक्तपुरबाट परेको गरिएको हो। उनीहरुको विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।