काठमाडौं - नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ। सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघले एक गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको हो।
आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए।
उनले भने, ‘हामीले एक महिनाअघि औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र समेत बुझाएका थियौँ। त्यसको कुनै सुनुवाई भएन। भारतमा जुन एमआरपी छ, आयात हुने औषधिको एमआरपी पनि त्यही अनुसार बिक्रि वितरण र नवीकरण हुनुपर्यो।’
आयात हुने औषधिको एमआरपी अनुसार बिक्रि वितरण गर्न नपाउँदा व्यवसायीहरुलाई समस्या भएको उनले बताए। संघले फागुन २७ गते औषधि व्यवस्था विभागलाई आफ्ना माग सम्बोधनका लागि ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो।
संघले गतवर्ष पनि २५ बुँदे माग पत्र पेश गरेको थियो। नेपालमा बिक्रि वितरण हुने करिब ५५ प्रतिशत औषधि विदेशबाट आयात हुने गरेको संघले जनाएको छ।