दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नागरिक समाज दाङले गरेकाे बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुले यस्ताे प्रतिबद्धता जनाएका हुन्।
समाजका पदाधिकारी तथा सदस्यहरुले सामुहिकरुपमा प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा पुगेर उनिहरुलाई स्वागत तथा सम्मान गरेका थिए। समाजका संयोजक केबि मसाल, सचिव नारायण प्रसाद श्रेष्ठ, निवर्तमान संयोजक चन्द्रराज पन्त, निवर्तमान सचिव लक्ष्मी आचार्य, सदस्यहरु सुशील गौतम, हरिप्रसाद पाण्डे, श्रीमन न्यौपाने लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए।
त्यस अवसरमा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीसँग समाजका पदाधिकारी तथा सदस्यहरुले छलफल समेत गरेका थिए। छलफलमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेले अस्पतालको स्तरोन्नती गर्न आफूले पहल गर्ने बताए।
बिगतको कुरालाई बिर्सिदै अस्पताललाई राम्रो बनाउन नागरिक समाजको निरन्तर खबरदारी आबश्यक रहेको र खबरदारीबाट नै सस्थालाई अघि बढाउन सकिने तर्क उनले गरे। प्रतिष्ठानको जग्गा प्राप्तीको प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले जग्गा आउनासाथ पुर्वाधारको काम अघि बढ्ने जानकारी दिए।
उपकुलपति लामिछानेले आउने बैशाख १ गतेबाट प्रसूति विशेषज्ञ थपेर २४ सै घण्टा सुरक्षित मातृत्व कार्यक्रम सन्चालन हुने बताए। आफ्नो चार वर्षे कार्यकालमा भौतिक पुर्वाधार जुटाएर एमबीबीएसको पढाई सुरु गर्ने प्रतिबद्धता जनाउदै उनले एमबीबीएस चलाउन ४ सय बेडको अस्पताल चाहिने भएकाले बैशाख भित्र शिलन्यास गरिने बताए।