काठमाडौं- प्रसूति गराउँदा हुने रक्तश्रावको रोकथाम तथा उपचार सम्बन्धी कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजको १६ औ राष्ट्रिय सम्मेलनको अवसरमा साउथ एसियन फेडेरेसन अफ अव्ट्रेक्स एण्ड गाईनोकोलोजिस्ट सोसाईटीको नेतृत्वमा फोग्सी, म्यासेसुसेटस जनरल अस्पताल तथा नेसोगको सहकार्यमा एक दिने प्रसूति गराउँदा हुने रक्तश्रावको रोकथाम तथा उपचार (जिवनधारा–फेज ३) कार्यशाला आयोजना गरिएको थियो।
कार्यशालामा देशभरका ७० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुको सहभागिता रहेको थियो। कार्यशाला नेसोगका अध्यक्ष प्राडा गणेश दंगालको अध्यक्षता तथा साउथ एसियन फेडेरेसन अफ अब्सट्रेक्स एण्ड गाईनोकोलोजिष्ट सोसाईटीका अध्यक्ष डा.रोहाना हतातुवाको प्रमुख आतिथ्यतामा कार्यशाला समपन्न भएको हो।
फोग्सीका डा.प्रिति कुमारले संयोजन गरेको कार्यक्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा.अमिर बाबु श्रेष्ठले कार्यशालाले प्रसूति तथा स्त्री रोग सम्बन्धी महत्वपुर्ण भुमिका खेल्ने बताए।
कार्यक्रमबाट देशभरका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई मास्टर ट्रेनरका रुपमा विकसित गरी देशभरीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई उक्त तालिम दिई मातृ मृत्युदर घटाउने लक्ष्य राखिएको छ।