काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा ‘इमेजिङ इन अंकोलोजी’ प्रशिक्षण तालिम चलिरहेको छ। सोमबारबाट सुरु भएको तीन दिने तालिम बुधबारसम्म चल्ने छ।
स्कटल्याण्डमा कार्यरत नेपाली डाक्टर दिपक सुवेदी र स्कटल्याण्डका डाक्टर ऋषि रमेशले राष्ट्रिय ट्रमा सेन्टरमा इमेजिङ इन अंकोलोजी विषयमा केन्द्रिर रहेर प्रशिक्षण तालिम दिइरहेका छन्।
उनीहरु दुवै जना स्कटल्यान्डको एडिनबर्ग वेस्टर्न जनरल हस्पिटलका कन्सलटेन्ट रेडियोलोजिष्ट हुन्।
रोयल कलेज अफ रेडियोलोजिष्ट (युके) इन्टरनेसनल ट्राभलिङ फेलोसिपमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको डिपार्टमेन्ट अफ रेडियोलोजी डाइग्नोसिस एण्ड इमेजिङ र नेपाल रेडियोलोजिष्ट एसोसियसनसँगको सहकार्यमा प्रशिक्षण आयोजना गरिएको हो।
तीनदिने प्रशिक्षणमा काठमाडौं उपत्यका र उपत्यका बाहिरका रेडियोलोजी र अंकोलोजी अध्ययनरत रेजिडेन्ट चिकित्सकहरु सहभागी छन्।
अंकोलोजीमा सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड लगायतका टेक्निकल प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक डा सुवेदीले जानकारी दिए।
तालिममा फोक्सोको क्यान्सर, टाउको, नाक, कान, घाँटीको क्यान्सर, प्रोस्टेट क्यान्सर, महिलाको प्रजनन् अंगको क्यान्सर र आन्द्राको क्यान्सरबारे प्रशिक्षण दिइएको छ।
तालिममा प्रशिक्षार्थीहरुलाई बिरामीको यी अंगहरुमा भएको क्यान्सर कसरी पत्ता लगाउने तथा उपचार कसरी गर्ने, नयाँ नयाँ प्रविधिहरु के आइरहेको छ र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको छ।
प्रशिक्षण कार्यक्रममा नेपाल रेडियोलोजिष्ट एसोसिएसनका अध्यक्ष डा हेन्सन खड्का, डा अम्बुज कर्ण र डा विकास भट्टराईको ठूलो सहयोग रहेको डा सुवेदीले जानकारी दिए।
