काठमाडौं- चन्द्रागिरि नगरपालिकाको आयुर्वेद औषधालय ‘मातातीर्थ आयुर्वेद औषधालय’ आफ्नै भवनमा सरेको छ। नगरपालिकाको वडा नम्बर ८ मातातिर्थमा रहेको औषधालयले नयाँ भवन निर्माण गरी मंगलबारदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।
यसअघि भाडाको घरबाट सेवा प्रदान गरिरहेको औषधालयले अब आफ्नै भवनबाट सेवा दिने छ। भवनको मंगलबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरेका छन्। उनले औषधालयबाट लाभ लिन जनताहरूलाई आह्वान गरेका छन्।
चन्द्रागिरि नगरपालिकाकी उपमेयर लिसा नकर्मीले नयाँ भवनबाट सेवा सुरु गरेको भन्दै औषधालयको प्रशंसा गरेकी छिन्।
लामो समयको पर्खाई र मेहनतमा भवन तयार भएको नगरपालिकाको ८ नम्बर वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए।
औषधालयका प्रमुख नारायण आचार्यले औषधालयमा पन्चकर्मसहित आयुर्वेद पद्दतिबाट परीक्षण तथा औषधि नि:शुल्क उपलब्ध गराइने बताए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ जीवनशैलीबारे प्रकाश पार्दै आयुर्वेदको महत्वबारे जानकारी दिए।
कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरको उपस्थिति थियो।