काठमाडौं- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छिन्।
आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ। सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसकेकी छिन्।
डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन्। मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिए।
कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन्। रासस