काठमाडौं- नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभर यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ। आउने शनिबार (चैत २६ गते) पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपिडी चलाएको थियो।
टिमले संचालन गर्ने निःशुल्क ओपिडी सेवाको समय भने सामान्य हेरफेर भएको छ। शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ। यूरोसर्जरी विशेषज्ञद्वय डा सञ्जीवभक्त बिष्ट र डा सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ। यसैगरी, चैत २६ गते बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र डा इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन्।