काठमाडौ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) को सुरुवात गरेकी छन्।
वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा पाउनेछन्।
खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरीन्।
उनले खोकनावासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने धारणा राखीन्।
कोभिड–१९ सङ्क्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकामा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिइन्। रासस