हेटौंडा- बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन्।
चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोपकेन्द्रमा पुगिसकेको जानकारी दिएको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ। यी खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन्।
खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढि स्वयंसेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए। ८० प्रतिशत खोपकेन्द्र विद्यालयमा र २० प्रतिशत खोपकेन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले जानकारी दिए।
खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए।
खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न समुदाय तहमा छलफल, जनप्रतिनिधिहरुमार्फत जानकारी, विद्यालयहरुमा तथ्यांक संकलन लगायतका काम गरिएको र खोप संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण जस्ता काम सम्पन्न भएकाले सबैको सहयोगमा खोप अभियान प्रभावकारी ढंगले सम्पन्न हुने निर्देशनालयका चिकित्सा एवं रोग नियन्त्रण शाखाका प्रमुख नरेन्द्र झाको भनाई छ।
खोप अभियानको केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाईस्कूलमा शुभारम्भ गरेका छन् भने बागमती प्रदेशमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले अपरान्ह हेटौंडामा गर्दैछन् ।