काठमाडौं- नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
संघको अध्यक्षमा रामबहादुर चन्द, डा झलक शर्मा गौतम, रामहरी ढकाल र महासचिवमा डा सन्तोष पौडेलको नाम चर्चामा छ। अध्यक्ष र महासचिव हाल कार्यरत पदाधिकारीबाट चयन हुने संघको विधान छ। नेतृत्व चयनमा सहमति खोज्ने तयारी भइरहेको बताइएको छ।
महाधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ। आफूहरुले संघबाट महासंघमा जाने तयारी गरेको अध्यक्ष रामबहादुर चन्दले बताए। उनका अनुसार महासंघमा परिणत हुन ५० हजार सदस्य र १० वटा महाशाखा आवश्यक पर्दछ। देशभर हाल १२ हजार स्वास्थ्यकर्मी राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आवद्ध छन्।
यसअघि एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि संघमा पनि विभाजन आएको थियो। १०६ कार्य समिति सदस्यमध्ये भक्तिमान सुब्बा, डा कृष्ण गोपाल महर्जन, महिला उपाध्यक्ष राधा सिलवाल सहित ९ जना संघबाट बाहिरिएका थिए।