हुम्ला-धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि हुम्लामा विद्यालय बन्द गरिएको छ। दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो। कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो स्वास्थ्य समस्या देखिएको छ।
सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हातखुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताए। छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको धामीले बताए। छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो।
पहिलो दिन एक जनामा देखिएको थियो भने दोस्रो दिन दुई जनामा हुँदै यो समस्या तेस्रो दिन २० जनाभन्दा बढीमा देखिएको उनकाे भनाइ छ। कक्षा १० मा अध्ययनरत दुई जनामा यो समस्या देखिएको छ। विद्यार्थी अचानक बिरामी हुन थालेपछि जनस्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखा र प्रदेशमा बिरामी विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्राचार गरिएको प्रधानध्यापक धामीले बताए।
बिरामीको समस्या दिनहुँ बढ्दै गएपछि बिहीबार दुई वटा विषय पठनपाठन गराएर एक दिनका लागि विद्यालय बन्द गरिएको हाे। कक्षा ६ देखि १० सम्मका छात्रछात्रा बिरामी पर्न थालेपछि अभिभावक चिन्तित भएका छन्। हुम्लामा यो समस्या विद्यार्थीमा पहिलो पटक देखापरेको हो। रासस