काठमाडौं–शुक्रबारदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ।
कामपाको शिक्षा विभागले सूचना जारी गर्दै यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ।
कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको अधिकारी सुवेदीले बताए।
कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ । खोप कार्यक्रम सञ्चालन गर्नका लागि शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन् । अभियानको शुभारम्भ बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसकेका छन्। अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।
नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ। यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ । रासस