काठमाडौं–टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि सुरु हुँदैछ। यस अभियानअन्तर्गत देशभरका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ। वैशाख १८ गतेसम्म चल्ने अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
यो अभियानपछि अब टाइफाइडविरुद्धको खोप नियमित खोप तालिकामा समावेश गर्ने स्वास्थ्यमन्त्रालयले जनाइसकेको छ। अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकाले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ। यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ।
काठमाडौं महानगरपालिकाले सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको जनाएको छ। अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन्।
कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ। खोप कार्यक्रम सञ्चालन गर्नका लागि शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन्।