काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा हरेक वर्ष गर्दै आइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन यही चैत २७ देखि २९ गतेसम्म हुने भएको छ।
सम्मेलन ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको हो। कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा गरिने भएको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले उद्घाटन गर्ने सम्मेलनले विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीतिनिर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञबीच भेला गराई तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनहुँ बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निस्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुर्याउने उद्धेश्य राखेको परिषद्ले जनाएको छ।
कार्यक्रममा भौतिक तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तिहरु सहभागी हुने जनाइएको छ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र तथा पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरु समावेश गरिएका छन्। त्यस्तै, सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई आमन्त्रित प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।