काठमाडौं–खाद्य तथा कृषि संगठन (एफएओ) ले फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्व खाद्यान्नको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको जनाएको छ। एकै महिनामा यति धेरै वृद्धि भएको यो पहिलोपटक भएको बताइएको छ।
हालै एफएओले विज्ञप्ति जारी गर्दै विश्वमा खाद्यान्नको मूल्य मार्चमा उच्चस्तरमा पुगेको जनाएको हो। रुस–युक्रेन युद्धका कारण विश्वभर मूल्यवृद्धि हुनसक्ने आँकलन यसअघि नै गरिएको थियो।
ब्ल्याक सी क्षेत्रमा युद्धका कारण खाद्यान्न र वनस्पति तेलको बजारमा झड्का लागेको एफएओको भनाइ छ।
रिपोर्टका अनुसार मार्चमा औसत सूचकांक १५९.३ थियो, जो फेब्रुअरीको तुलनामा १२.६ प्रतिशत बढी हो। एफएओले १९९० मा विश्व खाद्यवस्तुको मूल्यको निगरानी गर्न थालेयता यो अहिलेसम्मकै धेरै मूल्यवृद्धि भएको बताइएको छ। अहिलेलाई मार्च २०२१ सँग तुलना गर्ने हो भने ३३.६ प्रतिशत बढी हो।
खाद्यपदार्थ (सेरल) को मूल्य फेब्रुअरीको तुलनामा मार्चमा १७.१ प्रतिशतले बढेको छ। युक्रेनमा युद्धको परिणामस्वरुप गहुँको मूल्य वृद्धि भएको छ। रुस र युक्रेनले विश्वमा गहुँ र मकैको निर्यातमा क्रमशः २० र ३० प्रतिशत योगदान गर्छन्। एफएओका अनुसार मकैको मूल्य पनि बढिरहेको छ। जसअनुसार फेब्रुअरीयता १९.१ प्रतिशत वृद्धि देखिएको छ।
एफएओले भनेको छ, ‘युक्रेनमा बन्दरगाह बन्द भएका कारण निर्यात सीमित भइरहेको छ भने रुसले पनि निर्यातमा अवरोध सामना गर्नु परिरहेको छ।’ ब्ल्याक सी क्षेत्रमा जहाजको आवतजावत कम हुँदा निर्यातमा पनि अवरोध रह्यो, आयातमा कमी आयो, माग बढ्यो र विश्वभर मूल्यवृद्धि भएको। यो स्थिति जारी रहे आगामी दिनमा अझै मूल्यवृद्धि हुने आँकलन संगठनको छ।
युक्रेनले विश्वभर नै सूर्यमुखीको तेल निर्यात गर्छ। युद्धका कारण सूर्यमुखीको तेलको पनि मूल्यवृद्धि भएको छ।वनस्पति तेलको मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ। एफएओका महानिर्देशक क्यू डाेंग्युले मार्चमा प्रमुख निर्यातक मुलुकबीच युद्धका कारण विश्वमा खाद्य असुरक्षा बढ्नसक्ने बताएका थिए।