काठमाडौं– जंगली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गत चैत १८ गते जंगलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
च्याउ खाँदा अन्य दश जना बिरामी भएका थिए। बिरामीहरुमध्ये केही अझै अस्पतालमै रहेको र केहीभने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।