काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री र सचिव नै अनुपस्थित भएका छन्।
स्वास्थ्यको नीति निर्माणका लागि महत्वपूर्ण सूझाब आउने उक्त सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईं नै नआएका हुन्।
सम्मेलनको उद्घाटन कार्यक्रमा सुरुमा मन्त्री खतिवडालाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो। तर अन्तिम समयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रमुख अतिथि बनाइएको थियो। संघीय सरकारको स्वास्थ्य मन्त्री खतिवडा र मुख्यमन्त्री पाण्डे एउटै पार्टीका हुन्। पार्टीमा पाण्डे उपाध्यक्ष हुन् भने मन्त्री खतिवडा स्थायी कमिटी सदस्य हुन्।
संघीय सरकार अन्तर्गत परिषद्को कार्यक्रम भएकाले मर्यादाक्रम अनुसार संघीय मन्त्रीको हैसियतमा खतिवडा अगाडि हुन्छन्। तर पार्टीको जिम्मेवारीको आधारमा हेर्दा मुख्यमन्त्री पाण्डे अगाडि हुन्छन्।
कार्यक्रममा मर्यादाक्रममा समस्या पर्ने देखिएपछि अन्तिम समयमा मन्त्री खतिवडा कार्यक्रममा नजाने निर्णयमा पुगेको उनी निकट एक कर्मचारीले जानकारी दिए। मन्त्री खतिवडा नगएपछि राज्यमन्त्री भवानी प्रसाद खापुङले कार्यक्रममा मन्त्रीका तर्फबाट बोल्ने कुरा बोलेका थिए।
सम्मेलनको उद्घाटन कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र स्वास्थ्यको प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईं पनि अनुपस्थित थिए। सचिव गुरागाईं घरायसी काम भएका कारण अनुपस्थित भएको बताइएको छ।
सचिव डा पोखरेल भने सम्मेलनको आइतबारको कार्यक्रममा परिषदको तर्फबाट केही त्रुटि भएका कारण रिसाएको बताइएको छ।
सम्मेलनमा स्वास्थ्यमन्त्री र सचिव नै अनुपस्थित भएपछि स्वास्थ्यखबरले परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञावालीसँग जिज्ञासा राखेको छ।
डा ज्ञवालीले मन्त्री खतिवडासँग कार्यक्रमका विषयमा कुनै त्यस्तो विवाद नभएको बताए। उनले मन्त्री खतिवडा अन्तिम समयमा पार्टीको काममा जानु पर्ने भएकाले नआएको जानकारी दिए।
'उहाँसँग आज बिहान पनि कुरा भएको थियो। उहाँले पार्टीको मुख्यमन्त्री तथा आफ्नै पार्टीको उपध्यक्ष कार्यक्रममा आउने भएकाले स्थानीय चुनाव लगायतका पार्टीको अन्य काममा जान्छु भन्नु भएको हो,' डा ज्ञवालीले भने, 'मन्त्रीज्यूले आफू व्यस्त हुने भएपछि आफूले सम्मेलनमा बोल्ने भनेर तयार पारेको सन्देश राज्यमन्त्रीलाई बोल्न लगाउनु भन्नु भएको हो।'
डा ज्ञवालीले सचिव डा पोखरेल हिजो आइतबार कार्यक्रममा आएको र आज पनि आउने कार्यक्रम रहेको जानकारी दिए।
'सचिवज्यूसँग पनि कुरा भएको छ। बाहिर विवाद भयो भनेर हल्ला गरेछन्। वास्तवमा त्यस्तो होइन।'
सम्मेलन भोलि मंगलबारसम्म चल्ने छ।
‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो।
सम्मेलनले विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीतिनिर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञबीच भेला गराई तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनहुँ बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निस्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुर्याउने उद्धेश्य राखेको परिषद्ले जनाएको छ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र प्रस्तुत हुनेछन् भने पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरु छनोट गरिएका छन्। त्यस्तै, सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।