काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई बृहत क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ।
नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९औं वार्षिकोत्सव मनाउँदैछ। सोही अवसरमा अस्पतालले आगामी शनिबार (१६ अप्रिल)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो।
क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ।
क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ।
नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा दिँदै आएको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक हप्ताको शनिबार विशेषज्ञहरुलाई निःशुल्क ओपीडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको बृहत क्याम्प नै सञ्चालन हुन लागेको अस्पतालले जनाएको छ।