काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि तीन महिना थप्न अनुमति दिएको छ। तर म्याद थप्दा एक चौथाई नबढ्ने गरी थप गर्न मन्त्रालयले निर्देशन दिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो।
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाएको छ।
'कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार हाल कार्यरत कर्मचारीहरुको एक चौथाई (२५ प्रतिशत) संख्या नबढ्ने गरी ३ महिनासम्म थप्न सकिने नेपाल सरकार सचिवस्तरको निर्णयानुसार अनुरोध छ।' मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका मेडिकल अधिकृत डा नवराज जोशी जैशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।