झापा- जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमितदेखिएका छैनन्।
कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच÷छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ देखिएको छैन।
पौडेलका अनुसार सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण नियमित भइरहेको छ। झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन्। जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ। रासस