काठमाडौं- नेपालमा लक्षित जनसंखयाको ८३ दशमलव १ प्रतिशतले कोरोना भाइरसबिरुद्धको पुर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २२३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
त्यसैगरी ९३ दशमलव ९ प्रतिशत अर्थात १ करोड ८७ लाख ६ हजार ६५ जनाले कम्तीमा एक मात्राको खोप लगाएका छन्। कुल जनसंख्याको ६६ दशमलव २ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् भने ७५ दशमलव ८ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन्।
यस्तै अतिरिक्त मात्राको खोप २३ लाख ४७ हजार २२२ जनाले लगाएका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने यो अवधिमा कसैको पनि मृत्यु भएको छैन। हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन्।