काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन्। टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।
टेड्रोस ३ दिने भ्रमणका लागि यही ८ वैशाख (२१ अप्रिल)मा नेपाल आउन लागेकाे स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। सचिव पोखरेलका अनुसार भ्रमणका क्रममा टेड्रोसले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने छन्।
नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
महानिर्देशक टेड्रोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा शम्भु आचार्य पनि आउने कार्यक्रम तय भएको बताइएको छ। नेपाल आउनु अघि टेड्रोससहितको टोली भारतमा हुने एक कार्यक्रममा सहभागि हुनेछ।