काठमाडौं- सर्वोच्च शिखर सगरमाथामार्फत महत्वपूर्ण सन्देशहरू विश्वभर प्रवाह गर्न डा प्रिती भुषालसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। यात्राको पहिलो दिन डा भुषालको टोली लुक्ला पुगेको छ।
कोभिड—१९ को लडाईंविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाईमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको डा भुषालले बताइन्।
त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने आफ्नो दोस्रो लक्ष्य रहेको डा भुषालले बताएकी छन्। हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको डा भुषालको भनाइ छ।
हिमालयन सेपर्ड इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु रहेका छन्।
अर्घाखाँची स्थायी घर भएकी भुषाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन्। हिमाल आरोहणमा विशेष राख्ने भुषालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसकेकी छिन्।