काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन्।
पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले अरू दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरूलाई मौका दिन आग्रह गरेका हुन्। उनले भने, ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौँ, अरूहरूलाई तपाईँहरूले दशकौँ दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ। हामीले एक मौका खोजेका छौँ।’
विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवार बनाइने समीक्षा बास्कोटा र कीर्ति तुलाधरको परिचय तथा प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
कार्यक्रममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा स्वास्थ्यका विषहरुलाई पनि समेटिएको छ। नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौं र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता बुँदाहरु प्रतिज्ञापत्रमा उल्लेख छन्। महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण निशुल्क हुने गरी (वडा क्लिनिक) सञ्चालन गरिने, बीमासहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिने, मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिने प्रतिज्ञापत्रमा उल्लेख छ।
सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गरिने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रो लिङ्गीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिने पनि प्रतिज्ञापत्रमा उल्लेख छ।