काठमाडौं- यही वैशाख ९ देखि चितवनमा हुन लागेको ‘नेपाल फर्मा एक्स्पो २०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ।
तीन दिनसम्म चल्ने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल औषधि उत्पादक संघ एपोनले जनाएको छ।
एक्स्पोको लागि स्टलहरु बनाउने, उपकरण ल्याउने र ल्याब बनाउने काम भइरहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए। हालसम्म सबै १६० वटा स्टल नै बुक भइसकेको उनले जानकारी दिए।
एक्स्पोको लागि आजदेखि मेडिकल रिप्रेजेन्टिभ (एमआर) का लागि सेमिनार सुरु समेत भएको छ। फर्मासिस्ट र म्यानेजरलाई भने ८ गतेबाट तालिम तथा सेमिनार सुरु गरिने एपोनले जनाएको छ। बिहान ९ बजेदेखि सुरु हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।
नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने एक्स्पोको उद्देश्य छ।
एक्स्पोमा १६० वटा स्टलका साथै औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिने छन्।