काठमाडौं- शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
कर्मचारीहरुको सेवा शर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौँ संशोधन प्रक्रिया नटुङ्गिदा केन्द्रमा कार्यरत सबै कर्मचारीहरुको वृत्ति विकास र बढुवामा असर परेको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघले जनाएको छ।
विरोध स्वरुप उनीहरुले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। आफ्ना माग पुरा गर्नका लागि संघले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएको छ। १४ गतेसम्म पनि आफ्ना माग पुरा नभए कडा संघषका कार्यक्रम गर्न बाध्य हुने संघका अध्यक्ष आत्माराम तिमल्सिनाले बताए।
अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
वैशाख ९ गतेसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम छ।
यसअघि उनीहरुले चैत १ गते पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। तर व्यवस्थापन पक्षले १५ दिनभित्र माग पुरा गर्न प्रतिवद्ध रहेको बताएपछि उनीहरुले आन्दोलन स्थगित समेत गरेका थिए। तोकिएको समयभित्र माग पुरा नभएपछि आफूहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघले जनाएको छ।