काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार र भोलि बुधबार देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिरहेको छ। मन्त्रालयले धेरै वर्षदेखि नेपालमा यसरी भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमको विषयमा जानकारी दिन मन्त्रालयले आइतबारदेखिन नै सामाजिक सञ्जालमा प्रचार सामग्री राखेको थियो। उक्त प्रचार सामग्रीमा एक जना बालकलाई भिटामिन ए खुवाइरहेको तस्बिर पनि छ।
तर, उक्त बालक भने नेपाली नै नभएको पत्ता लागेको छ। नेपालको राष्ट्रिय अभियान भएकाले ती बालक नेपाली नै होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर वास्तविकता भने फरक छ।
ती बालक नेपाली नभएर बंगलादेशको रहेको कुरा स्वास्थ्यखबरले पत्ता लगाएको छ। प्रचार सामग्रीमा राखिएको ती बालक बंगलादेशको बोरिसाल जिल्लाको बोरिसाल सहरको कालापट्टी सुकुम्बासी बस्तीका हुन्। ती बालकको तस्बिरलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले आफ्नो वेबसाइटमा राखेको छ। (हेरौं लिंक)
युनिसेफको वेबसाइटमा उल्लेख भए अनुसार उक्त उक्त तस्बिर युनिसेफको सहयोगमा बंगलादेशमा सञ्चालित राष्ट्रिय भिटामिन ए प्लस अभियानका क्रममा बोरिसाल सहरको कालापट्टी सुकुम्बासी बस्तीमा भिटामिन खुवाइँदै भनेर लेखिएको छ।
सोही तस्बिरलाई राखेर नेपालको प्रचार सामग्रीमा राखिएको हो। उक्त प्रचार सामग्री स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको हो।
हेरौं नेपालको प्रचार सामग्री
