काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीबार नेपाल आएका उनले आज बिहान ९ बजे प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।
तीनदिने भ्रमणकामा आएका उनले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।
उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण गर्ने कार्यक्रम छ।
महानिर्देशक टेड्रोसका साथ डब्लुएचओको दक्षिण पूर्विएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू नेपाल आएका छन्। उनी वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम रहेको छ।