अछाम- बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको हो।
एक दशकभन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मानसहित बिदाई गरिएको पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए।
डा. गौचनले बयालपाटा अस्पतालबाट केही सयम पहिले नै राजिनामा दिएको भएपनि देश कोभिड महामारीले आक्रान्त हुँदा उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका कारण अछाम आउन सकेका थिएनन्।
अहिले उनी अछाम आएको अवसरमा महासंघ अछामले एक कार्यक्रमको आयोजना गरी डा. गौचनलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको हो। बिदाईको अवसरमा बोल्दै महासंघ अछामका अध्यक्ष खम्म खत्रीले डा. गौचनले अछामको स्वास्थ्य क्षेत्रमा अतुलयिन योगदान दिएकाले यस क्षेत्रका जनताले उनलाई कहिल्यै नबिर्सिने बताए।
कार्यक्रममा बोल्दै डा. गौचनले आफू अछाममा रहँदा यस क्षेत्रका सबै जनता, राजनीतिज्ञ, पत्रकार तथा समाजका सबै क्षेत्रबाट साथ सहयोग पाएको बताए। आफू कार्यरत संस्था बयालपाटा अस्पतालको स्तरोन्नती र प्रगतिका लागि आफू सधैं सहयोग गर्न तत्पर रहेको बताए।
कार्यक्रममा बयालपाटा अस्पतालका तत्कालिन दन्त चिकित्सक डा. रेखा शेरचनको समेत बिदाई गरिएको थियो।
बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुवँर, प्रेस यूनियन अछामका उपाध्यक्ष सरिता खड्का, प्रेस चौतारी अछामका उपाध्यक्ष एकेन्द्र महता, समाजवादी प्रेस संगठन अछामका अध्यक्ष डण्डीराज भट्ट, अकोराबका जिल्ला अध्यक्ष कमल रावल लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो।