काठमाडौं– जिल्ला अस्पताल हुम्लामा उच्च रक्तचापको समस्याले जटिल (प्रिक्ल्याम्सिया) भएकी गर्भवतीको शल्यक्रिया विधिबाट प्रसूति गराइएको छ।
गर्भवती अवस्थामा उच्च रक्तचापका कारण स्वास्थ्य अवस्था जटिल भएकी २६ वर्षीया संगिता शाहीको शल्यक्रिया विधिबाट सुत्केरी गराइएको हो।
शल्यक्रिया विधिबाट २ सन्तान जन्मिएका छन्। शिशुहरुको तौल एक जनाको २ केजी र अर्कोको २. ९ केजी रहेको उपचारमा संलग्न डा कृशान्त भण्डारीले बताए।
डा भण्डारीका अनुसार ती महिलाको समयमै प्रसूति नगराएको भए आमा र बच्चा दुवैको ज्यान जाने सम्भावना थियो।
समयमै शल्यक्रिया विधिबाट प्रसुति गराइएपछि आमा र बच्चासहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा भण्डारीले जानकारी दिए। डा भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुम्लामा खटिएका हुन्।
शल्यक्रियामा उनीसहित डा रोशन खनाल, डा कैलाश लामा, डा देव गजमेर र डा सुनिल सिंह पुजारा सरिक थिए भने एनेस्थेसिया तर्फ फिर्दोश महर्जन र नर्स निमा लामा सहभागी थिइन्।