ललितपुर– अनलाइनमार्फत मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने संस्था, ‘ह्याप्पी माइन्स् डट हेल्थ’, ले स्थापनाको पहिलो वर्ष पुरा गरेको छ।
ललितपुरमा आयोजित पहिलो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ह्याप्पी माइन्ड्स्की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन्।
कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको बेला नेपाल बाट शुरु गरिएको यो सेवा अहिले ९ देश पुगी सकेको र १,००० घण्टा भन्दा बढी परामर्श दिइ सकेको प्रबन्ध निर्देशक गिरीले बताइन्।
जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ।
मनोचिकित्सक डा। सुरज शाक्यले मानसिक स्वास्थ्य निकै संवेदनशील विषय भएकाले परामर्श लिन आउने व्यक्तिहरुलाई सम्मान र करुणापूर्ण व्यबहार गर्नु पर्ने बताए। मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे।
लायन्स क्लब्स इन्टरन्याशनल डिस्ट्रिक्ट ३२५ का गभर्नर एवं नेपालका लागि इथियोपियाका मानार्थ महावाणिज्यदूत डा। राजेन्द्र गिरीले पहिलो वर्ष पुरा गरेकोमा ह्याप्पी माइन्ड्सलाइ बधाई दिए। उनले मानिसहरुले केहि समस्या हुनासाथ आफ्नो शारीरिक स्वास्थ्यको जांच गराउने तर मानसिक स्वास्थ्यको जांच नगराउने प्रचलन रहेको बताए। उनले देशका सबै क्षेत्रमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न राज्यले पहल गर्नु पर्ने बताए।
कर्पोरेट साझेदारहरुको सहयोगमा ह्याप्पी माइन्ड्सले संचालन गरिरहेको कर्मचारी सहायता कार्यक्रम अन्तर्गत ५,००० बढी कर्मचारी तथा तिनका परिवारलाई परामर्श सेवा दिइने कम्पनीले जनाएको छ।
ह्याप्पी माइन्ड्स नेपालमा आपतकालीन सहयोगका लागि निशुल्क हटलाइन सेवा संचालन गर्ने निजी क्षेत्रको संस्था हो।यसैबीच सार्क स्टार्ट अप अवार्ड्सको लागि ह्याप्पी माइन्ड्स नेपालबाट छानिएको छ। https://tinyurl.com/2p8m24y8 मा गएर मतदान गर्न कम्पनीले आग्रह गरेकाे छ।