काठमाडौं- नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले शनिवार बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।
नर्भिकले चैत महिनाभर पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरेको थियो। सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
यूरोसर्जरी विशेषज्ञद्वय डा सञ्जीवभक्त बिष्ट र डा सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ। यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ।
यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र डा।इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ। मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन्।
निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ।