काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा डे केयर (दिवा सेवा) डायलाइसिस केन्द्रको उद्घाटन गरिएको छ। मोबाइल दुरसञ्चार कम्पनी एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार एनसेलले डे केयर स्थापनाका लागि त्रिवि शिक्षण अस्पतालको एक भवनामा आवश्यक पूर्वाधार लगायतमा सहयोग गरेको थियो। यस्तै, मलेसियाको सुची फाउण्डेसनले ८ वटा डायलाइसिस मेसिन सहयोग गरेको छ।
केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएपनि बिरामीलाई डायलाइसिस सेवा भने गत फागुन ११ गतेदेखि नै दिन थालिएको अधिकारीले जानकारी दिए।
त्रिवि शिक्षण अस्पतालमा यसअघि ११ वटा डायलाइसिस मेसिन सञ्चालित छ। नयाँ ८ वटा डायलाइसिस मेसिन सहित १९ वटा डायलाइसिस मेसिन रहेको त्रिवि शिक्षण अस्पतालमा दैनिक ४० जना बिरामीले डायलाइसिस सेवा लिने गरेको अधिकारीले जानकारी दिए।
अस्पतालमा सञ्चालित पुरानो डायलाइसिस युनिटमा २४ सै घण्टा डायलाइसिस सेवा प्रदान हुने र डे केयर डायलाइसिस केन्द्रमा भने दिँसोको समयमा मात्र सेवा खुल्ने उनले बताए।
डे केयर डायलाइसिस केन्द्र सञ्चालन भएपछि सेवा प्रवाहमा केही सहज भएपनि अझै नयाँ बिरामीका लागि डायलाइसिस सेवा प्रदान गर्न नसकिएको अधिकारीको भनाइ छ।
विभिन्न ठाउँबाट रेफर भएर डायलाइसिस गराउन आएका सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए। दैनिक १० देखि १५ जना बिरामीलाई डायलाइसिस सेवा दिन नसकेर फर्काउन परेको उनले जानकारी दिए।