काठमाडौं– सत्ता गठबन्धन आबद्ध दलहरुको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रतिबद्धतापत्र सार्वजनिक भएको छ। लोकतान्त्रिक-वाम गठबन्धनको भरतपुर महानगर समितिले मंगलबार प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
पाँचदलीय गठबन्धनले ‘हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’ नारासहित स्वास्थ्यका विषयमा १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
प्रतिबद्धतापत्रमा ‘हाम्रो पालिका–स्वस्थ बालबालिका’ कार्यक्रम सञ्चालनगर्ने, वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद नाराका साथ घरदैलो महानगर मोबाइल हेल्थ क्लिनिक सञ्चालन गर्ने, सम्पूर्ण किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग रोकथामका लागि एचपीभी निःशुल्क, पूर्ण निदान र उपचार गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, ज्येष्ठ नागरिक र अशक्तहरुलाई घरदैलो हेल्थ क्लिनिक सञ्चालन गर्ने, भरतपुरलाई मेडिकल सिटीको औपचारिक घोषणा गरी प्रभावकारी मेडिकल बोर्ड गठन गर्न आवश्यक नीतिगत र व्यावहारिक सहजीकरण गर्ने र गरिब, विपन्न, अपांग, सहिद परिवारको स्वास्थ्य बीमा महानगरले गर्ने उल्लेख छ।
१६ वर्षमुनिका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गर्ने, २ सन्तानसम्म जन्मदिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणका लागि ६ महिनासम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिने पनि प्रतिबद्धतामा जनाइएको छ।

