काठमाडौं– सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि स्वास्थ्य सेवाका कर्मचारीलाई पनि दुई दिन सार्वजनिक बिदा दिइने भएको छ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार स्वास्थ्यका पेशागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो। सोही सुझाबका आधारमा तत्काललाई अस्पतालमा आइतबार पनि ओपिडी बन्द हुने भएको हो।
सरकारका तर्फबाट स्वास्थ्यका कर्मचारीका विषयमा नयाँ कुनै निर्णय नआएसम्म ओपिडी बन्द हुने छलफलमा सहभागी प्रतिनिधिहरुले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले सरकारको निर्णय स्वास्थ्य सेवाका कर्मचारीको हकमा पनि लागू हुने भएको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले सरकारले गरेको निर्णय कार्यान्वयन गराउने तय भएको डा अधिकारीको भनाइ छ। तर आकस्मिक सेवामा भने अन्य समयमा जस्तै सार्वजनिक बिदाले प्रभाव नपार्ने उनले बताए।
‘आजको मिटिङमा सरकारको निर्णय कार्यान्वयन गर्ने कुरामा हाम्रोपनि दुविधा भएन, आइतबार बिदाको सन्दर्भमा सरकारको निर्णय नै कार्यन्वय गर्ने भयौं,’डा अधिकारीले भने, ‘आकस्मिक सेवा बिदाको दिन पनि सञ्चालन भएकै छ।’
डा अधिकारीले स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले सरकारको निर्णय अनुसार शनिबार र आइतबार अस्पतालहरुमा ओपिडि सेवा बन्द हुँदा पर्ने प्रभावबारे छलफल भएको बताए।
ओपिडि सेवा आइतबार सेवा सञ्चालन गर्ने वा नगर्ने? सेवा सञ्चालन गर्दा कसरी सञ्चालन गर्ने? कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्यमा काम गर्ने विभिन्न ट्रेड युनियन तथा निकायसँग छलफल भएको डा अधिकारीले जानकारी दिए।
दुई दिनसम्म ओपिडी सेवा बन्द हुँदा बिरामीमा पर्नसक्ने असर र त्यसको व्यवस्थापनबारे छलफल भएको छ, तर व्यवस्थापनका लागि के गर्ने भन्ने विषय टुंगो नलागेको डा अधिकारीले बताए।