काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको पोष्टिङ पूरा नहुँदै परीक्षा मिति तय गरिएको भन्दै असन्तुष्ट जनाएका छन्।
आइओएमले एमबिबिएस तृतीय फेज पाचौं वर्ष तथान एमबिबिएस तृतीय फेज पूरानो पाठ्यक्रमको वार्षिक नियमित तथा पून: परीक्षा साउन १६ गतेदेखि हुने जनाएको छ। आइओएमले परीक्षा तालिका सार्वजनिक गरेपछि मेडिकल कलेजहरुले आफूहरुको पोष्टिङको समयअवधि नै घटाइदिएको विद्यार्थीको गुनासो छ।
आइओएम अन्तर्गतको महाराजगञ्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको वैशाखमै पोष्टिङ सकिए पनि अन्य मेडिकल कलेजका विद्यार्थीको पोष्टिङ नसकिदै परीक्षा मिति तोकिएको एक विद्यार्थीले गुनासो गरे।
‘केही मेडिकल कलेजमा साउनसम्म र केहीमा असारसम्म पोष्टिङ थियो,’ एक विद्यार्थीले गुनासो गरे, ‘आइओएमको रुटिन अनुसार त विश्वविद्यालयको सिलेवस अनुसारको पोष्टिङ नै सकिदैन, हामीले के सिकेर परीक्षा दिने?’
आइओएमले परीक्षा मिति सार्वजनिक गरेसँगै आफू अध्ययनरत मेडिकल कलेजले पोष्टिङको समयावधि नै घटाइदिएको ती विद्यार्थीको गुनासो छ।
आफूहको पोष्टिङ अवधि पूरा नहुँदै परीक्षा मिति तय भएपछि विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोग र आइओएममा निवेदन दिएका छन्।
आइओएमकी डीन प्राडा दिव्यसिंह शाहले भने आइओएमको वार्षिक क्यालेन्डरको आधारमा नै परीक्षा तालिका सार्वजनिक भएको जानकारी दिइन्।
मेडिकल कलेजहरुसँगको छलफल पछि नै परीक्षाको मिति सार्वजनिक गरेको डा शाहको भनाइ छ।
विद्यार्थीहरुको पोष्टिङ अवधि पूरा नभएको भए विद्यार्थीले सम्बन्धित मेडिकल कलेज प्रशासनमा गुनासो गर्नुपर्ने र मेडिकल कलेजले आइओएमसँग छलफल गर्नुपर्ने डा शाह बताउँछिन्।
‘पोष्टिङ नसकिएको भए विद्यार्थीले सम्बन्धित कलेजलाई भन्नुपर्यो, कलेजले आइओएमलाई भन्नुपर्छ, केही विद्यार्थी परीक्षाका लागि रेडि भएका छैनन् भनेर परीक्षाको सेड्युल बिर्गान भएन’ उनले भनिन्, ‘परीक्षा मिति तय गर्नुअघिको मिटिङमा सबै मेडिकल कलेजका प्रिन्सिपलहरु हुनुहुन्थ्यो।’
कोभिडका कारण साढे ५ वर्षको एमबिबिएस अध्ययनको कोर्ष साढे ६ वर्ष लम्बिएको हुनाले आइओएमले वार्षिक क्यालेन्डर अनुसार परीक्षा मिति तय गरिएको उनको भनाइ छ।
उनले विद्यार्थीहरुको कोर्ष पूरा नभएको भए सम्बन्धित कलेजले कोर्ष पूरा नहुनुको कारण सहितको निवेदन दिएर छलफल गर्नुपर्ने बताइन्।