काठमाडौ- प्रजातन्त्रवादी चिकित्सक संघले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य भएको जनाएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले हप्तामा २ दिन सार्वजनिक बिदाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको कार्य बोझलाई सन्तुलन कायम राख्ने जनाएको छ।
'हप्ताको २ दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा दिने निर्णयले स्वास्थ्य सेवामा अनवरत रुपमा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको कार्य बोझलाई सन्तुलन कायम राख्न सहज हुने यस संघले विश्वास लिएको छ।' सघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव संयुक्त आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २४ सै घण्टा सेवामा समर्पित हुने हुनाले उनीहरुको शारीरिक तथा मानसिक सन्तुलन कायम राख्नका लागि पनि यो निर्णय सान्दर्भिक भएको संघको ठहर छ।
तर स्वास्थ्य सेवा संवेदनशिल क्षेत्र भएको भन्दै २४ सैं घण्टा संचालनमा ल्याउनु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अन्य अतिरिक्त सेवा सुबिधा र सहुलियत उपलब्ध गराउन समेत संघले माग गरेको छ।
