काठमाडौं- सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक घोषणापत्रमा मेडिकल हबदेखि स्वास्थ्य बीमाका विषय समेटिएका छन्।
घोषणापत्रमा प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी स्थापना गरिने, सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका औषधीको लाभ लिन जनचेतना कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
त्यस्तै सस्तो र गुणस्तरीय सरकारी स्वास्थ्य सेवाको लागि नारायणी अस्पतालमा जनशक्ति, उपकरण तथा पूर्वाधार विकासमा सहयोग गरिने, स्वास्थ्य उपचारमा लाग्ने ठूलो खर्चबाट जोगिन सुलभ दरको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हन सबैलाई प्रेरित गरिने, गरीब तथा विपन्न नागरिकको पहिचान गरी महानगरपालिकाबाट निःशुल्क स्वास्थ्य बीमा गरिने उल्लेख छ। त्यसैगरी निःशुल्क आँखा अप्रेशन तथा सहुलियत दरको एम्बुलेन्स सेवा उपलब्ध गराइने छ।
सरकारद्वारा निःशुल्क प्रदान गरिने आयुर्वेदिक औषधि तथा सेवाको जानकारी, उपयोग र प्रयोगमा जोड दिइने र योग र आयुर्वेदको चिकित्सा पद्धतिसम्बन्धी सचेतना कार्यक्रम र व्यायामशालाको स्थापना गरिने घोषणापत्रमा उल्लेख छ।
वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम उम्मेदवार छन्।
हेर्नुहोस घोषणापत्र: