काठमाडौं– एनेस्थेसियोलोजिष्ट डाक्टरहरुको संगठन सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले काठमाडौंमा २१ औं वार्षिक सम्मेलन आयोजना गरेको छ।
समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मेलनमा देशभरबाट एनेस्थेसियाका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ। सम्मेलनमा ४५० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ।
सम्मेलनले एनस्थेसियाको क्षेत्रमा केके नयाँ कुरा आइरहेको छ, नेपालमा कुन ठाउँमा कस्तो र कसरी अभ्यास भइरहेको छ, काठमाडौं उपत्यका बाहिर लगायत विभिन्न ठाउँमा कस्तो छ अवस्था लगायतका विषयमा चिकित्सकहरुलाई जानकारी प्रदान गर्न सकिने सोसाइटीका महासचिव डा रुपेश यादवले बताए।
डा यादवका अनुसार सम्मेलनमा रेजिडेन्ट चिकित्सकहरुले आफ्नो अध्ययनको क्रममा तयार पारेको वैज्ञानिक अनुसन्धानका रिपोर्ट प्रस्तुतिकरण पनि गर्नेछन्।
यस्तै विशेषज्ञ चिकित्सकहरुले आफ्नो अनुभव र नयाँ विषयमा पनि कार्यशाला प्रस्तुत गर्नेछन्। जसले गर्दा नयाँ चिकित्सकहरुले सिक्ने अवसर पाउने डा यादवको भनाइ छ।
एनेस्थेसियोलोजिष्टलाई बेहोश गराउने चिकित्सकको रुपमा मात्र चिनिने गरेकोमा कोभिड महामारी पनि एनेस्थेसियोलोजिष्टको भुमिका शल्यकक्ष, सघन उपचार कक्षमा, रिससिटेसन पेन म्यानेजमेन्ट लगायत अन्य चिकित्सा सेवा प्रवाहमा पनि महत्वपूर्ण रहने भन्ने विषयमा धेरैले बुझ्न थालेको सोसाइटीकी अध्यक्ष प्राडा शान्ता सापकोटाले बताइन्।
कार्यक्रममा ओम अस्पतालमा कार्यरत एनेष्थेसियोलोजिष्ट डा सौभाग्यमान मल्ल र डा सुरेन्द्र श्रेष्ठ र नेपाल मेडिकल कलेजका डा मोदनाथ मरहठ्ठालाई सम्मान समेत गरिएको थियो।
सम्मेलेनको औपचारिक उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले एनेस्थेसियोलोजिष्टहरुले भुकम्प तथा कोरोना महामारीको समयमा खेलेको भुमिकाको प्रशंसा गरे। उनले नेपालमा पछिल्लो समय एनेस्थेसियोलोजिष्टहरुको संख्या बढ्दै गएकोमा खुशी व्यक्त गर्दै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्न सोसाइटीले पनि सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सरकारले जेठ १ गतेदेखि लागू गर्न लागिएको सार्वजनिक बिदाको सन्दर्भलाई जोड्दै सेवा सुविधाको समयमा सबैलाई समान भन्ने र बिदाको विषयमा मात्र स्वास्थ्य क्षेत्रलाई अलग विधाको रुपमा लिने सरकारको प्रवृत्ति रहेको बताए।
उनले कोभिड महामारीको समयमा पनि जोखिम भत्ता उपलब्ध गराउने घोषणा पूर्ण रुपमा पुरा नगरेकोले आइतबारको सार्वजनिक बिदामा भत्ता वा सुविधाको प्रलोभनमा आफूहरु नपर्ने जानकारी दिए।
सार्वजनिक बिदाको दिन स्वास्थ्य सेवा प्रवाहको विषयमा स्वास्थ्य मन्त्रालयमा पुनः छलफल हुन लागिएको जानकारी दिँदै उनले मन्त्रालयमा हुने छलफलमा अब चिकित्सकको तलब सुविधा वृद्धिको विषयमा पनि आवाज उठाउने बताए।
डा कार्कीले कोरोना महामारीमा एनेस्थेसियोलोजिष्टहरुले आफूहरु अब्बल प्रमाणित गरेको समेत बताए।
यस्तै स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्यकर्मी सुरक्षा अध्यादेश मन्त्रिपरिषद्ले जारी गरिसकेको डा कार्कीको भनाइ छ।
कार्याक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले सबै चिकित्सकहरुले काउन्सिलको ऐन नियम र आचारसंहिता राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले पछिल्लो समय सामाजिक सञ्जालमा समेत चिकित्सकहरुले आचारसंहिता विपरितका काम गरिरहेको देखिएको भन्दै त्यसतर्फ पनि सचेत रहन आग्रह गरे।











