काठमाडौं- परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ।
जैन श्वेताम्बर तेरापन्थ सभाको संयोजनमा सम्पन्न सो निःशुल्क क्लिनिकमा ४५ जना बिरामीहरुले स्वास्थ्य परीक्षण गराएका थिए।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको उक्त क्लिनिकमा मुटु, मधुमेह, रक्तचापको परीक्षण गरिएको थियो।
परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनामा २ पटक आयोजना गर्ने उक्त कार्यक्रम वडावडामा गर्ने अभियान अनुरुप यसपक जैन श्वेताम्बर तेरापन्थ सभासँग सहकार्य गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए।